मनोसामाजिक एक परिचय
मनोसामाजिक भनेको के हो ?
हिजोआज हाम्रो देशमा मनोसामाजिक समस्या जनचासोको विषय बन्दै गइरहेको छ । अनुसन्धानहरूले पनि देखाएका छन् कि विभिन्न परिस्थितिहरूका कारण विश्वमा धेरै नै संख्यामा मानिसहरू मनोसामाजिक समस्याबाट गुजे्रका हुन्छन् । कहिलेकाहीँ यी समस्याहरू उनीहरू आफै हल गर्न सक्छन् भने कहिलेकाहींँ उनीहरूलाई मनोसामाजिक सहयोगको आवश्यकता पर्दछ ।
आखिर के हो त मनोसामाजिक समस्या भनेको ? के कारणले यो मानिसमा देखिन्छ ? के कस्ता उपायहरू अपनाएर यसलाई कम गर्न सकिन्छ ? कस्तो अवस्थामा भने विशेषज्ञको सेवा लिनुपर्ने हुन्छ ? यस्ता जिज्ञासाहरू तपाईंहरुको मनमा धेरै आइरहेका हुन सक्छन् ।
‘मनोसामाजिक’ शब्द ‘मन’ र ‘समाज’ भन्ने दुई ओटा शब्द मिलेर बनेको छ । मन भन्नाले व्यक्तिको भावना, विचार, सोचाइ तथा धारणा बुझिन्छ भने समाज भनेको व्यक्ति, परिवार, साथीभाइ, स्कुल, समुदाय र संघसंस्था मिलेर बनेको हुन्छ । यसरी मनोसामाजिक शब्दले मन र समाज बिचको सम्बन्ध वा अन्तरक्रियालाई जनाउँछ ।
मनोसामाजिक समस्या केलाई भनिन्छ ?
जसरी व्यक्ति र उसका क्रियाकलापहरूले समाजमा विभिन्न खालको प्रभाव पारिरहेको हुन्छ, त्यसैगरी समाजमा घट्ने घटना र परिस्थितिहरूले पनि मानिसको मनमा प्रभाव पारिरहेको हुन सक्छ । उदाहरणको लागि कसैको घरमा झगडा हुंँदा अथवा कुनै व्यक्तिले रक्सी खाएर होहल्ला गर्दा त्यसले छिमेकमा पनि असर पारिरहेको हुन्छ । अध्ययनहरूले पनि देखाएका छन् कि सामाजिक विभेद र बेरोजगारी बढी भएको समाजमा मानिसहरूलाई धेरै अनुपातमा मनोसामाजिक समस्याले सताउने गर्दछ ।
यसरी व्यक्तिको आफ्नै जीवन र वरिपरिको समाजमा घटिरहने विभिन्न खाले घटनाहरूका कारण मन र समाज बिच तालमेल नमिलेर मनोसामाजिक समस्या देखिन सक्छ । यस्तो बेलामा व्यक्तिलाई भोक नलाग्ने वा धेरै भोक लाग्ने, निन्द्रा नलाग्ने वा बढी निन्द्रा लाग्ने, एक्लै बस्ने र अरुसँग घुलमिल हुन मन नलाग्ने जस्ता असरहरू देखा पर्न सक्छन् । यस्ता असरहरूसँग सामना गर्न व्यक्ति आफैसँग पनि धेरै खुबीहरू हुन्छन् । आवश्यक परेको खण्डमा, यस्तो अवस्थामा व्यक्तिले आफन्त, साथीभाइ, सामाजिक कार्यकर्ता, चिनेको, जान्नेसुन्ने वा अग्रजहरूसँग सहयोग पनि लिन सक्दछ ।
कुनै व्यक्तिमा यस्ता असरहरू केही समयसम्म देखापरि नै रहन्छन् र त्यसले दैनिक जीवन यापनमा पनि समस्या देखा पर्न थाल्छ भने त्यस्तो अवस्थामा मनोसामाजिक सहयोगले निकै फाइदा पुर्याउन सक्छ । मनोसामाजिक सहयोगकर्ताहरू त्यस्तै किसिमको सहयोग गर्नको लागि तालिम प्राप्त हुन्छन् । उनीहरूलाई मनोविमर्शकर्ता, मनोविज्ञ वा मनोचिकित्सक जस्ता नामहरूले चिनिन्छ ।
तसर्थ, व्यक्ति सामाजिक र मानसिक रूपमा स्वस्थ हुनको लागि मनोसामाजिक पक्षलाई ध्यान दिनु उत्तिकै जरुरी हुन्छ जुन् उसको समस्यासँग सामना गर्ने सिप, पारिवारिक र सामाजिक सहयोग आदिमा निर्भर गर्छ ।
मनोसामाजिक समस्याका कारण मानिसमा देखा पर्ने लक्षणहरूलाई शरीर, मन, व्यवहार र सम्बन्धमा पर्ने असरहरू भनी चार भागमा वर्गीकरण गर्न सकिन्छ । त्यस्ता लक्षण तथा असरहरूको बारेमा अझ बढी जान्न र तिनको सामना गर्ने उपायहरूको बारेमा थाहा पाउन इच्छुक हुनुहुन्छ भने यसै पृष्ठमा राखिएका अरु सामग्रीहरू पनि हेर्नुहोला । थप जानकारी वा विशेषज्ञको सेवाको लागि, कृपया, टि.पि.ओ. नेपाल, बालुवाटार, काठमाडौँंमा सम्पर्क गर्नुहोला ।
मनोसामाजिक सुस्वास्थ्यमा ब्यत्ति र समुदायको भुमिका
नेपालमा मनोसामाजिक स्वास्थ्यको अवस्था
मनोसामाजिक समस्याका कारणहरु
मनोसामाजिक समस्याका कारणहरू व्यक्तिगत, सामाजिक र वातावरणीय लगायत धेरै हुन सक्छन् जसमध्ये मुख्य मुख्यलाई यहाँ वर्णन गरिएको छ ।
- प्राकृतिक तथा मानव निर्मित प्रकोपहरु जस्तै भुकंप, बाढी, आगलागी, पहिरो, दुर्घटना, चोरी डकैती, युद्ध, द्धन्द्ध, हिंसा, यातना जस्ता कारणहरु ।
- वंशानुगत तथा व्यक्तित्व संबन्धी कारणहरु जस्तै परिवारमा कसैलाई मानसिक समस्या, बढी आक्रामकता, अधिक महत्वाकंक्षा, अरुमाथि धेरै भरपर्ने बानी, असुरक्षित र कठीन बाल्यकाल, अत्याधिक नकारात्मकता आदि ।
- परिवारमा उत्पन्न हुने परिस्थितिहरु जस्तै रक्सी तथा लागुपदार्थको सेवन, नजिकका व्यक्तिको मृत्यु, आफैलाई वा परिवारमा कसैलाई लागेको दिर्घरोग, परिवारमा बेमेल, झैंझगडा, बुबाआमा वा परिवारका सदस्यबाट हुने तनाव र बेवास्ता ।
- वैवाहिक जीवनमा उत्पन्न हुने परिस्थितिहरु जस्तै लैंगिक हिंसा, महिलामाथि हुने विभेद, असमानता, संबन्ध विच्छेद, यौन दुव्र्यवहार तथा अन्य शारीरिक र मानसिक यातनाहरु, अन्तरजातीय विवाह, अनमेल विवाह, बालविवाह र बहुविवाह, दाइजो प्रथा, आदि ।
- शैक्षिक समस्या जस्तै सिकाइमा समस्या, अभिभावकबाट दिइने दबाब, अस्वाभाविक अपेक्षा तथा उच्च महत्वाकाङ्क्षाका साथै स्कुल र कलेजमा साथीभाइ वा शिक्षकबाट हुने तनाव र दुव्र्यवहार ।
- सामाजिक कारणहरु जस्तै गरीबी, बेरोजगारी, अशिक्षा, छोराछोरी बीचमा विभेद, समाजमा घुलमिल हुन नसक्नु, छिमेकीको असहयोग, सामाजिक तथा जातीय भेदभाव, असमानता, छुवाछूत, लाञ्छना, छाउपडी, झुमा तथा देउकी प्रथा, बोक्सीको आरोप, मानव बेचबिखन, अपहरण, दबाब, धम्कीका साथै असुरक्षित बसाइँसराइ र सुकुम्बासी जीवन आदि ।
- व्यवसाय वा पेशासंग संबन्धित कारणहरु जस्तै अत्यधिक कामको चाप, कामको उचित मूल्याङ्कन नहुनु, जागिर जाने डर, कठिन कार्य, कार्य असन्तुष्टि, हाकिम वा सहकर्मीसँग मनमुटाव आदि ।
- लामो समयसम्म सेवन गरिने कतिपय औषधिहरु जस्तै परिवार नियोजन र मधुमेहका औषधीहरू ।
- अन्य कारणहरु जस्तै स्वास्थ्य सेवामा पहुंच नहुनु, सरकारी तथा गैर सरकारी सेवा, राहत आदिमा पहुंच नहुनु, कानूनी झैंझमेला वा मुद्दामामिला खेप्नु आदि ।
मनोसामाजिक समस्याका लक्षणहरु के के हुनसक्छन् ?
मनोसामाजिक समस्याका लक्षणहरूलाई सजिलोको लागि समग्रमा शरीर, मन, व्यवहार र सम्बन्ध गरी चार भागमा वर्गीकरण गर्न सकिन्छ जसलाई मनोसामाजिक समस्याका कारण मानिसहरूमा देखापर्ने चार पक्षीय असरहरू भन्ने गरिन्छ ।
उदाहरणको लागि, मनोसामाजिक समस्याका कारण मानिसको शरीरमा निम्न लक्षणहरू देखापर्न सक्छन् :
- टाउको भारी हुनु, टाउको दुख्नु, जिउ अररो हुनु, शिथील हुनु, झमझम गर्नु, हातखुट्टा नचल्नु
- मुटुको धड्कन बढ्नु, श्वासको गति बढ्नु र श्वास फेर्न गार्हो हुनु
- रिङ्गटा लाग्नु, एकोहोरो हुनु, टोलाइरहनु
- धेरै थकित, कमजोर हुनु
मनोसामाजिक समस्याका कारण मानिसको मनमा निम्न लक्षणहरू देखा पर्न सक्छन् :
- खान मन नलाग्नु वा धेरै खाने चाहना हुनु
- चिन्ता लाग्नु वा पीर पर्नु
- निकै डर लाग्नु वा मन झसङ्ग हुनु
- धेरै रिस उठ्नु वा चिडचिडापन हुनु
- धेरै नकारात्मक विचार आउनु
- आत्मबल वा आत्मसम्मानमा कमी आउनु
- पछुतो वा आत्मग्लानी हुनु
मनोसामाजिक समस्याका कारण मानिसको व्यवहारमा निम्न लक्षणहरू देखा पर्न सक्छन् :
- एक्लै बस्नु र काम गर्ने जाँगर नहुनु
- निदाउन गार्हो हुनु वा धेरै सुत्नु
- बढी रुन्चे हुनु वा रोइरहनु
- बढी सतर्कता अपनाउनु र अधिक शंकालु हुनु
- रक्सी वा लागुपदार्थको प्रयोग गर्नु
मनोसामाजिक समस्याका कारण मानिसकोे सम्बन्धमा निम्न लक्षणहरू देखा पर्न सक्छन् :
- अरुसँगको सम्बन्धबाट टाढिने
- झैझगडा हुने वा बेमेल हुने, अरूप्रति अविश्वास बढ्ने र सञ्चारमा कठिनाइ हुने
याद राख्नुपर्ने महत्वपूर्ण कुरा के छ भने प्रत्येक व्यक्तिसँग मनोसामाजिक समस्याका असरहरूसँग सामना गर्न केही न केही सिप र क्षमता अवस्य हुन्छ । कतिपय अवस्थामा परिवार, साथीभाइ, छरछिमेक, र समुदायमा रहेका अन्य व्यक्ति वा संघसंस्थाको सहयोगले मद्दत मिल्न सक्छ भने कतिपय अवस्थामा मनोविमर्शकर्ता, मनोविज्ञ वा मनोचिकित्सक जस्ता विशेषज्ञहरूको सहयोग आवश्यक पर्न सक्छ । यदि कसैलाई केही समयसम्म यस्ता लक्षणहरू देखा परिरहन्छन् जसको कारणले गर्दा दैनिक जीवन यापनमा पनि कठिनाइ हुन्छ भने विशेषज्ञको सेवा लिनु आवश्यक हुन सक्छ । थप जानकारीको लागि, कृपया, टि.पि.ओ. नेपाल, बालुवाटार, काठमाण्डौंमा सम्पर्क गर्नुहोला ।
कन्भर्जन डिसअर्डर अथवा रूपान्तरित विकृति भनेको के हो ?
भावनात्मक समस्या वा तनावलाई अभिव्यक्त गर्न नसक्दा शारीरिक रूपमा देखापर्ने समस्यालाई कन्भर्जन डिसअर्डर भनिन्छ । कन्भर्जन डिसअर्डर अङ्ग्रेजी शब्दाबली हो र यसलाई नेपालीमा रूपान्तरित विकृति भनिन्छ । कुनै पनि व्यक्तिको मनमा तनाव बढ्दै गएमा उसको मनले नै तनावलाई कम गर्न प्रतिक्रिया स्वरूप विभिन्न खालका लक्षणहरू पैदा गर्दछ, जुन नजानीकन भइरहेको हुन्छ । कहिलेकाहीँ व्यक्तिहरू आफ्नो समस्या साथी–सङ्गी, अभिभावक तथा आफन्तहरूलार्ई भन्न सक्दैनन्, केही परिआउला भन्ने डरले पनि भन्न चाहँदैनन्, हाँसोमा उडाउला कि भन्ने डरले वा व्यक्त गर्ने उचित वातावरण पनि पाउँदैनन् । यसले गर्दा उनीहरूलाई असहज भइरहेको वा मन भित्रभित्रै पीडा बोझ हुन सक्छ । यसरी तनावलाई कम गर्न कोसिस गर्दागर्दै पनि आफूलाई सम्हाल्न नसक्दा व्यक्तिहरू अर्धबेहोस अवस्थामा विभिन्न लक्षणहरू जस्तै रुने, कराउने, ढल्ने, आदि देखाउने गर्छन् । यो अवस्थामा उनीहरूले सहयोग चाहन सक्छन् । आफ्ना मनका भावना, समस्या अरुले बुझुन र आफूलाई सहानुभूति, ढाडस र सहयोग गरून् भन्ने आशा राख्न सक्छन् ।
पहिले कन्भर्जन डिसअर्डर महिलाहरूमा मात्र देखिने र यसलाई महिलाको यौन इच्छासँग जोडेर विभिन्न कथा, टिप्पणी समेत गर्ने र उडाउने समेत गरिएको पाइन्छ । तर पछि आएर यो समस्या महिलामा मात्र नभई पुरुषमा पनि देखिने कुरामा ध्यानाकर्षण भएको छ । यो कुनै पनि यौनजन्य वा महिलासँग मात्र सम्बन्धित नभई तनावसँग सम्बन्धित रहेको तथ्य अध्ययनले देखाएको छ ।
कन्भर्जन डिसअर्डर कहिलेकाहीँ एक व्यक्तिमा मात्र नभई समूहमा पनि देखापर्ने गरेको पाइन्छ, जसलाई मास कन्भर्जन डिसअर्डर भनिन्छ । यस्ता समस्या भएको समूहको विस्तृत रूपमा लेखाजोखा गर्ने हो भने समूहमा एक जना यस्ता व्यक्ति भेटिन्छ, जो कुनै किसिमको तनावले ग्रसित हुन्छ । उक्त व्यक्तिमा देखिएको समस्या वा लक्षणहरू समूहको अरु व्यक्तिलाई पनि क्रमैसँंग देखिन थाल्दछ । यसको अर्थ यो होइन कि समूहका सबैलाई यो समस्या देखिन्छ, जो मुख्य समस्यामा परेको व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा हुन्छ, घनिष्ट साथी, कमजोर मन भएका, तनाव धेरै वहन गर्न नसक्ने व्यक्तित्व भएको र पहिलादेखिनै तनाव र चिन्ताको अनुभव गरिरहेका र त्रासमा रहेका व्यक्तिहरूमा यो समस्या देखिएको पाइन्छ ।
कन्भर्जन डिसअर्डरका कारणहरू
अहिलेसम्म कन्भर्जन डिसअर्डर यही कारणबाट मात्र हुन्छ भन्ने बिषयमा यकिन भएको देखिँदैन । कन्भर्जन डिसअर्डरसँग जोडिएर आउने तनावका कारणहरू निम्न हुन सक्छन् :
- आफ्ना भावनाहरू अरु सामु व्यक्त गर्न नसक्ने वा नचाहने स्वभाव भएमा ।
- घर–परिवार, साथी–भाइ, शिक्षक– शिक्षिकाहरूसंँग राम्रो सम्बन्ध नहुनृु ।
- कमजोर मन भएका र पहिलादेखिनै तनाव र चिन्ताको अनुभव गरिरहेका अनि त्रासमा रहेका व्यक्तिहरूलाई यो समस्या देखेर, सुनेर, अनुभव गरेर आफूलाई पनि त्यस्तै भएको महसुस हुन सक्छ ।
- आघातजन्य घटना वा अवस्थाबाट गुज्रिएको वा गुज्रिसकेको अवस्था ।
- तनावलाई कम गर्ने उपायको जानकारी नहुँदा ।
यी बाहेक पनि ब्यक्ति विशेषमा अन्य पनि कारण हुन सक्दछन् । यी कारणहरू समुदाय र संस्कृति विशेषमा पनि फरक पर्न सक्दछ ।
कन्भर्जन डिसअर्डरको समाधान
यस्तो समस्या भएको व्यक्तिका जीवनमा आइपर्ने तनाव र त्यसको प्रभाव बारे राम्ररी बुझी त्यसको राम्रो व्यवस्थापन गर्न सकेमा समस्या समाधान गर्न सकिन्छ । व्यक्तिको मनमा भएको तनावको कारणहरू पत्ता लगाई त्यसलाई समयमै सम्बोधन गर्न सकेमा समस्यामा परेका व्यक्तिहरूलाई राम्ररी सहयोग र माया दिन सकेमा यस्ता समस्या सामान्य भएर जान सक्छ । समस्यामा परेका व्यक्तिहरूलाई विभिन्न पक्षहरू जस्तै परिवारले, विद्यालय तथा शिक्षकले वा व्यक्ति आफैले पनि सहयोग गर्न सक्दछन् ।
यो समस्या औषधी खाएर निको हुँदैन किनकि यो रोग होइन । यो तनावजन्य समस्या हो । त्यसैले विद्यालय तथा घर परिवारमा सहयोगी वातावरण निर्माण गरेर, उनीहरूको तनावलाई कम गर्ने उपायहरू खोजेर तथा तालिम प्राप्त शिक्षक वा मनोविमर्शकर्तासँग मनोविमर्श सेवा लिएर समस्याको समाधान गर्न सकिन्छ । विस्तृत जानकारीको लागि टि पि ओ नेपाल या अन्य मनोसामाजिक सहयोग प्रदान गर्ने संस्थामा सम्पर्क गर्नृ होला ।